जलेश्वरटुडे समाचारदाता
विरगञ्ज, ९ पुस
“स्वस्थ परिवारको लागि स्वच्छ तेल” भन्ने आकर्षक नारासहित बजारमा बिक्री हुँदै आएको ‘फेमिली’ ब्रान्डको तोरीको तेलमा गम्भीर तौल अन्तर फेला परेको छ। प्याकेटमा उल्लेख गरिएको तौल र वास्तविक तौलबीच ठूलो भिन्नता देखिएपछि उपभोक्ताहरू ठगीमा परेको आशंका बलियो बन्दै गएको छ।
उपलब्ध प्याकेजहरूमा NET CONTENTS 500 ml (455 ग्राम) भनी स्पष्ट उल्लेख गरिएको छ, जसलाई ३० डिग्री सेल्सियस तापक्रममा प्याक गरिएको जनाइएको छ। तर बजारमा बिक्री भइरहेका सोही प्याकेजहरू तौल गर्दा केवल ४०६ ग्राम मात्र भेटिएको पाइएको छ। यसरी हेर्दा लेबलमा उल्लेख गरिएको तौलभन्दा झण्डै ४९ ग्राम कम तेल उपभोक्तालाई उपलब्ध गराइएको देखिन्छ।
उक्त तोरीको तेल श्री शिव शक्ति घ्यू उद्योग प्रा. लि., जीतपुर, बारा, नेपाल द्वारा उत्पादन हुँदै आएको जनाइएको छ। तर लेबलअनुसारको तौल नपाउँदा उपभोक्ताहरू प्रत्यक्ष रूपमा आर्थिक नोक्सानीमा परेको गुनासो बढ्दै गएको छ।
उपभोक्ता अधिकारकर्मीहरूका अनुसार यस्तो कार्य उपभोक्ता संरक्षण ऐनको गम्भीर उल्लङ्घन हुन सक्ने भन्दै सम्बन्धित निकायले तत्काल बजार अनुगमन तीव्र पार्दै निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन्। दोषी उद्योग वा वितरकलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्ने उनीहरूको जोड छ।
