आरजे इर्शाद शेख
महोत्तरी, १३ पुस
महोत्तरी जिल्लाको एकडारा गाउँपालिका अन्तर्गत एकडारा स्वास्थ्य चौकीमा दुई दिने एकीकृत परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ।

स्वास्थ्य कार्यालय महोत्तरीको आयोजनामा, सुनौलो परिवार नेपालको प्राविधिक सहयोग तथा जिल्लाभरिका सबै नगरपालिका र गाउँपालिकाको समन्वयमा उक्त शिविर सञ्चालन गरिएको हो।

आर्थिक वर्ष २०८२/८३ अन्तर्गत आयोजना गरिएको शिविर एकडारा गाउँपालिका अध्यक्ष दीप नारायण मण्डलको अध्यक्षतामा सञ्चालन भएको हो।
शिविर १३ र १४ गते दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ, जसबाट स्थानीय सर्वसाधारण महिला तथा पुरुषहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।
शिविर उद्घाटन कार्यक्रममा एकडारा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख महेन्द्र कुमार मण्डलले शिविरको उद्देश्यबारे जानकारी गराउँदै यस कार्यक्रममार्फत कुल ८७४ जनालाई परिवार नियोजनसम्बन्धी सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए। उनका अनुसार शिविरमा स्थायी तथा अस्थायी परिवार नियोजनका साधनहरू अन्तर्गत आईयुसिडी (१२ वर्षे) तथा इम्प्लान्ट (५ वर्षे) सेवा उपलब्ध गराइनेछ।

कार्यक्रममा स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नवल किशोर साहले सन्तानको चाहना पूरा भइसकेका दाम्पतीहरूका लागि स्थायी बन्ध्याकरण सेवा अत्यन्त प्रभावकारी र सुरक्षित विकल्प भएको उल्लेख गरे। उनले जिल्लाको जनसंख्या व्यवस्थापन र मातृ तथा शिशु स्वास्थ्य सुधारमा यस्ता शिविरहरूले महत्वपूर्ण भूमिका खेल्ने बताए। साथै, महोत्तरी जिल्लाका १३ स्थानमार्फत जिल्लाका सबै १५ वटै स्थानीय तहमा परिवार नियोजन सेवा विस्तार गरिने जानकारीसमेत दिए।
शिविर सञ्चालन कार्यक्रममा एकडारा गाउँपालिका अध्यक्ष दीप नारायण मण्डल, स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नवल किशोर साह, स्वास्थ्यकर्मीहरू, पत्रकारहरू तथा स्थानीय समाजसेवी एवं सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानीय तहको सक्रिय सहभागिता र विभिन्न निकायहरुबीचको सहकार्यमा सञ्चालन भएको यो शिविरले समुदायमा परिवार नियोजनप्रति जनचेतना अभिवृद्धि गर्ने र स्वस्थ परिवार निर्माणमा योगदान पुर्याउने विश्वास गरिएको छ।
