विश्वमै जलस्रोतमा अग्रणी स्थान अगोटन सफल रहेको नेपालमा जलविद्युतको विकास नहुनु गम्भीरताको विषय बन्न पुगेको देखिन्छ । सन् १९११ मा फर्पिङ जलविद्युत् आयोजना सञ्चालनमा आउँदा नेपाल दक्षिण एसियामै विद्युत् उत्पादन गर्ने प्रारम्भिक मुलुक रहेका थिए । तर त्यसपछि लामो समयसम्म जलविद्युत् विकास दरबार–केन्द्रित सोच, सीमित पुँजी, कमजोर प्राविधिक क्षमता र राजनीतिक अस्थिरताका कारण अगाडि बढ्न सकेन । दशकौंसम्म विद्युत् विकास राज्यको एकाधिकारमा सीमित रह्यो, जहाँ न त पर्याप्त लगानी जुट्न सक्यो, न त दीर्घकालीन योजना बन्न सक्यो । अन्ततः संघीय संसद् निर्वाचन, २०८२ का घोषणापत्रहरूमा जलविद्युत् विकास कसरी प्रस्तुत हुन्छ भन्ने कुराले नेपालको विकासको दिशा र गति निर्धारण गर्ने देखिन्छ । इतिहासबाट सिकेर, अन्तर्राष्ट्रिय अभ्यास आत्मसात् गरेर र नेपालको यथार्थसँग इमानदारीपूर्वक जँुधेर तयार गरिएका घोषणापत्र मात्र राष्ट्रको भविष्यप्रति जिम्मेवार दस्तावेज बन्न सक्ने देखिन्छ । जलविद्युत् विषयमा गम्भीरता देखाउनु भनेको देशको भविष्यप्रति राजनीतिक जिम्मेवारी लिनु आवश्यक रहेको देखिन्छ ।
