महोत्तरी–३ मा धेरै उम्मेदवारबीच प्रतिस्पर्धा – Jaleshwortoday

महोत्तरी–३ मा धेरै उम्मेदवारबीच प्रतिस्पर्धा

 February 6, 2026  
3

  • राकेशप्रसाद चौधरी
    महोत्तरी–३ मा उम्मेदवारी दिएकाहरू जीत सुनिश्चित गर्न अत्याधिक दौडधुपमा लागेका छन् । मतदान अगाबै यी उम्मेदवारहरूबीच कुनै आन्तरिक तथा पार्टीगत गठबन्धन भए,नभएपनि प्रतिस्पर्धा रोमाञ्चक हुने निश्चित छ ।
    देशभरमा चलेको राष्ट्रिय स्वतन्त्र पार्टीको लहर जोगाउन उम्मेदवार उज्जवल कुमार झालाई बहुपक्षीय चुनौती छ । पूरानो राजनीतिक दलजस्तै संगठन बलियो नभएपनि जनलहरलाई मतमा परिणत गर्न उम्मेदवार झा निर्वाचन क्षेत्रमा खटिएका छन् । अघिल्लो प्रदेशसभाको निर्वाचनमा महोत्तरी ३(२) बाट स्वतन्त्र उम्मेदवार हुँदा उनले ५४८९ मत प्राप्त गरेपनि लोकतान्त्रिक समाजवादी पार्टीकी रानी कुमारी तिवारीले ६४१४ मत प्राप्त गरि दोस्रो पटक पनि जीत प्राप्त गरेकी थिइन् । त्यस्तै नेकपा(एमाले) का रामदयाल मण्डलले ४५६७ मत ल्याएका थिए । मण्डलले महोत्तरी ३ बाट २०७० सालको संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । सो क्षेत्रबाट अघिल्लो प्रदेशसभाको निर्वाचनमा नेपाल संघीय समाजवादी पार्टी मोहम्द सैदर अंसारीले ३३४४, जनमत पार्टीका २३१९ तथा स्वतन्त्र उम्मेदवार सुनिल कुमार झाले ११३५ मत प्राप्त गरेका थिए ।
    अघिल्लो प्रतिनिधिसभाको सामानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीले यस क्षेत्रबाट ६०७ मत मात्र प्राप्त गरेको थियो । यस क्षेत्रबाट स्वतन्त्र उम्मेदवार हरिनारायण यादव पूर्वमन्त्री छन् । २०६४ सालको संविधानसभा सदस्य यादवले जनता समाजवादी पार्टी(जसपा), नेपालको उम्मेदवार भई १४३२५ मत प्राप्त गरेका थिए । सामानुपातितर्फ पार्टीले १०९९६ मत प्राप्त गरेको थियो । गत निर्वाचनमा भएको हारलाई जीतमा बदल्न उद्देश्य लिएका यादवले जसपा, नेपालको उम्मेदवार सोही पार्टीका संरक्षक महन्थ ठाकुरकी छोरी मिनाक्षी ठाकुरलाई चुनौती दिएका दिइरहेका छन् । यस्तै नेकपा(एमाले)को उम्मेदवार मनोजकुमार सिंहलाई अर्का स्वतन्त्र उम्मेदवार रामआधार कापरको कारण चुनौती बढेको छ । अघिल्लो निर्वाचनमा समेत स्वतन्त्र उम्मेदवारी दिएका कापरले यस पटकको उम्मेदवारी दिनुभन्दा अगाडिसम्म नेकपा(एमाले) पार्टीसंग आवद्ध थिए । २०७९ सालको निर्वाचनमा उनी १२७३३ मत ल्याएका थिए । सो समयमा नेकपा(एमाले) पार्टीको सामानुपातिक मत ५७६२ मत थियो ।
    नेकपा(एमाले) का उम्मेदवार सिंहलाई यस क्षेत्रबाट प्राप्त २०७० सालको जीतलाई पुनः फर्काउनु पर्ने चुनौती छ । अहिलेजस्तै तत्कालीन समयमा बहुपक्षीय प्रतिस्पर्धा हुँदा नेकपा(एमाले)का रामदयाल मण्डलले २०७० सालमा संविधानसभा सदस्यमा जितेका थिए । त्यति बेला हारेकामध्ये दुईजना नगरपालिकाको प्रमुखसम्म भइसकेका छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एकहजारभन्दा बढी मत ल्याउनेमा छजना उम्मेदवाररूमा महन्थ ठाकुर, हरिनारायण यादव, रामआधार कापर, नेपाल संघीय समाजवादी पार्टीका इलियास अन्सारी, जनमत पार्टीका मृगेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका बृषेशचन्द्र लाल थिए । आसन्न प्रतिनिधिसभा निर्वाचनमा कुनै किसिमको आन्तरिक गठबन्धन नभए हजारभन्दा बढी मत ल्याउने सम्भावना ४१ मध्ये ११ जना उम्मेदवारको छ । यसैमध्ये एकजनाले जीत निकाल्ने छन् । यी उम्मेदवारहरूबीच हुने आन्तरिक वा पार्टीगत गठबन्धनले जीतको निर्धारण हुने जानकारहरू बताउँछन् । यीबाहेकका उम्मेदवारहरू पनि आफू जीत्ने दाबी गरिरहेका छन् ।
    नेपाली काँग्रेसको उम्मेदवार बजरंग नेपालीलाई २०७४ को प्रतिनिधिसभा निर्वाचनमा महन्थ ठाकुरलाई समर्थन गर्न उनकै पार्टीले उम्मेदवारी फिर्ता गराएको थियो । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले ६६६६ मत प्राप्त गरेको थियो । उनी जसरी यो अवसरलाई जीतमा परिणत गर्न रणनीति अपनाएका छन् । नेपाल संघीय समाजवादी पार्टीका उम्मेदवार अन्सारीले ४९४९ मत र सामानुपातिक ६२९९ मत आएको हुँदा यस पटक पार्टी अध्यक्ष मुहम्द रिजवान स्वयं उम्मेदवारी दिएर मत बढाउने रणनीतिमा छन् । जनमत पार्टीका उम्मेदवार अरबिन्द ठाकुर अघिल्लो चुनाव सो पार्टीको उम्मेदवारले ल्याएको ४०३८ मतलाई बढाउने रणनीति अपनाएका छन् । स्वराज अभियानमा लागेका कैलाश महतो आम जनता पार्टीबाट उम्मेदवार बनेकोले ठाकुरलाई चुनौतीको सामना गर्नुपर्ने धेरैको आँकलन छ । त्यस्तै जेनजी आन्दोलनपछि जलेश्वर नगरपालिकाको प्रमुख सुरेश साह सोनारबिरुद्ध आन्दोलन गरेर परिचय बनाएका रंजितकुमार साहले समेत मत माग्न व्यस्त छन् । नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका राजकिशोर साह पनि मत माग्न घरदैलोसम्म पुग्ने गरेका छन् । अघिल्लो निर्वाचनमा नेकपा(एस)को मत समेत जोड्दा सामानुपातिक मत १८२२ थियो ।