धार्मिक ग्रन्थ रामायणमा देखाए झै जसरी माता सितालाई पटक—पटक अग्नि परीक्षा दिनलाई उक्साईयो त्यसैगरी जनकपुरधाममा संचालित निजि विद्यालयले विभिन्न नाउँमा प्रत्येक साल आफ्नो विद्यालय जतिसुकै राम्रो व्यवस्थापन तथा गुणस्तर कायम गरे पनि अनुगमन तथा विभिन्न नियम तथा उपनियमहरु पालना गर्नबाट बञ्चित भएका छैनन् । जनकपुरधाम उपमहानगरलाई राजर्षिजनकको राजधानी तथा अष्टाबक्रको पवित्र शास्त्रार्थ गर्ने थलो जनकपुरधामलाई शैक्षिक केन्द्रको रुपमा मधेस तथा नेपाल भरीमा चिनाउन सफल गर्न गराउनमा निजि विद्यालय तथा क्याम्पसहरुका ऐतिहासिक महत्व तथा पूर्वजको लगानी रहेका छन् ।
हामी जस्ता धेरै जना सामुदायिक विद्यालयबाट नै पढेका छौं । आज भन्दा करिव ३० वर्ष पहिला जुन अवस्था र व्यवस्था सामुुदायिक विद्यालयको थियो,त्यसमा पक्कै पनि अहिले वर्तमान समयसम्म पुग्दा धेरै नै विकास भएको छ । जहाँ भौतिक संरचनाको अभाव थियो, अहिले नेपाल भारतको सहयोग तथा स्थानिय पालिका स्तरमै लगानी भएर राम्रो भएको छ । तर एक दुईटा सामुदायिक विद्यालय बाहेक अन्यमा के गुणस्तरीय पढाई,विद्यार्थी केयर,स्वच्छ परीक्षा प्रणाली,निःशुल्क पढाई, राजनैतिक प्रभावदेखि टाढा,शिक्षकको दुरुस्त दरबन्दी,शिक्षकको नियमित पारिश्रमिक वितरण छ त ? यी सम्पूर्ण विषयहरुका बारेमा सामुदायिक विद्यालयमा अनुगमन हुनु पर्छ कि पर्दैन ? के यो सबैको चासोको विषय होइन ? के सामुदायिक विद्यालय अनुगमन बिना नै राम्ररी चल्न सक्ने अवस्था छ ? के यो हाम्रो अधिकारको विषय होइन ? के गरिवका वच्चाहरु पढने थलोलाई चेकजाँच गर्न जरुरी छैन ? यदि जरुरी छ भने अबिलम्ब यी रुकेका कामहरु अरु भन्दा पहिला हुनु पर्दछ ।
