जलेश्वरटुडे समाचारदाता
धनुषा, २० असार
धनुषाको पुरन्दाहा स्थित कल्चरल भिलेजमा शनिवार मधेस प्रज्ञा प्रतिष्ठानले ४औं वार्षिकोत्सब मनाएको छ । सो अवसरमा आयोजित कार्यक्रममा ८ वटै जिल्लाका दर्जनौं लेखक,साहित्यकार,कलाकार,भाषाबिद,नाट्कार लगायतका ब्याक्तित्वहरुलाई सम्मान गरिएको छ ।
मधेस प्रदेशको शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंहको प्रमुख आतिथ्य र प्रतिष्ठानको अध्यक्ष डा रामभरोस कापरीको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो । सोही कार्यक्रममा डा.सूर्या यादव र डा. वीर बहादुर महतोद्वारा लिखित २ वटा किताबको बिमोचन समेत गरिएको थियो । मधेस प्रज्ञा प्रतिष्ठान,जनकपुरधामद्वारा प्रकाशित तथा डा.वीर वहादुर महतोद्वारा सम्पादीत तथा अनुसन्धान गरिएको पुस्तक मगही संस्कार आउ संस्कृति नामक किताब भित्र मगही समाजको परम्परा,रितिरिवाज,जीवनशैली र संस्कृतिको बारेमा विस्तृत रुपमा वर्णन गरिएको छ । मगही क्षेत्र प्राचीनकालदेखि नै धनी रहेको ईतिहास छ । यस किताबभित्र बताइएका विभिन्न संस्कारहरु र त्यसका सामाजिक,धार्मिक तथा मनोबैज्ञनिक अर्थ समेत रहेको बुझिन्छ । यो किताब मात्र वर्णनमा मात्र सिमित नभएर अनुसन्धानको आधारमा प्रमाणित गरिएका तथ्यहरु प्रस्तुत गरिएको अनुसन्धानकर्ताको दाबी रहेको छ । यो किताबको प्रकाशनमा सहयोग गर्ने यस प्रतिष्ठानको अध्यक्ष राम भरोस कापडी भ्रमर र सम्पूर्ण प्रतिष्ठान परिवारप्रति आभार तथा कृतज्ञता व्यक्त गरिएको छ ।सो कार्यक्रममा प्रतिष्ठानको सदस्य दिनेश यादवले प्रतिष्ठानको अवस्था र ब्यबस्थाको बारेमा जानकारी गराउनु भयो । प्रतिष्ठानको सदस्य यादवले सरकारले वार्षिकोत्सव मनाउन मात्र १.५ लाख उपलब्ध गराउदा अन्य खर्चहरुको व्यवस्थापन गर्न अप्ठ्यारो हुने भएकोले सोको दायरा बढाउन तथा प्रतिष्ठानलाई संरक्षण गरे मात्र यो मधेस प्रदेश सम्मानीत तथा गौरबाञ्चित हुने भएकोले यस प्रति सबैलाई ध्यानाकर्षण गर्न आग्रह गर्नु भयो । शिक्षा मन्त्री सिंहले प्रतिष्ठानको जल्दोबल्दो समस्याहरु र यस कार्यक्रमबाट आएका सल्लाहहरुलाई समेत समयमै समाधान गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । प्रतिष्ठानको अध्यक्ष कापडीले प्रतिष्ठान आर्थिक समस्याको साथै विभिन्न समस्याहरुले जुधिरहेको बखत सरोकारबालाहरुले समयमै ध्यान दिन तथा यस धरोहरलाई सबैले संरक्षण गर्न आवश्यक रहेको बताउनु भयो । जिल्ला महोत्तरीबाट सो कार्यक्रममा शिक्षक उपेन्द्र यादवले दम्दार प्रस्तुती दिनु भएको थियो भने अन्य ७ वटै जिल्लाहरुबाट विभिन्न कलाकारहरुले आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए । सो कार्यक्रममा कला,साहित्य,नाटक,भाषा तथा संस्कृतिका क्षेत्रमा काम गर्ने विभिन्न व्यक्तित्वहरुबाट अन्तरक्रिया गरी नव प्रतिभाहरुको विकास तथा प्रबद्र्धनका विभिन्न अभ्यासहरु गरिएका थिए । उपस्थित सम्पूर्ण कलाकारहरुलाई मायाको चिनो,प्रशंसा पत्र तथा गमछा ओढाएर सम्मान समेत गरिएका थिए ।
