नयाँ दिल्लीबाट जनकपुरधामको लागि मंगल बार साँझ हिड्यो रामायण सर्किट जोड्ने रेल – Jaleshwortoday

नयाँ दिल्लीबाट जनकपुरधामको लागि मंगल बार साँझ हिड्यो रामायण सर्किट जोड्ने रेल

 June 22, 2022  
mm

जलेश्वरटुडे समाचारदाता
धनुषा, ७ आषाढ

भारत र नेपाल जोड्ने पहिलो रेल नयाँ दिल्लीबाट जनकुरधाम आउन लागेको छ । ‘भारत गौरव पर्यटक रेल’ नाम दिइएको सो रेल भारतीय समयअनुसार मंगलबार साँझ ७ बजे नयाँ दिल्लीबाट जनकपुरधामको लागि हिडेको हो । भारतका रेलमन्त्री र पर्यटनमन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई रेल सेवाको उद्घाटन गरेका छन् । सो रेल झण्डै ५०० पर्यटक बोकी असार ९ गते जनकपुरधाम आइपुग्ने भारतीय दूतावासले जनाएको छ । पर्यटक रेलको उद्घाटनसँगै ‘आईआरसीटीसी भारत गौरव पर्यटक रेल’ अन्तर्राष्ट्रिय सीमा पार गरी समग्र रुपमा पर्यटनको प्रवर्धन गर्ने पहिलो रेल सेवा हुने छ। रामायण सर्किटमा सञ्चालन हुने यस रेलले अयोध्या, नन्दिग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पंचवटी (नासिक), हम्पी, रामेश्वरम र भद्राचलम जस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरमा अवस्थित धार्मिक क्षेत्रलाई जोड्नेछ। दूतावासका अनुसार सो रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोक कला जस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदा लगायतका बहुरुपी झल्को देख्न सकिन्छ । युनेस्को सम्पदा सूचीमा सूचीकृत विभिन्न सम्पदा स्थलका साथै भारतका विभिन्न आधुनिक वास्तुकलाका अद्भूत रचनालाई प्रवर्धन गर्न रेलको बाहिरी भागलाई बौद्ध तथा मुगल कालिन प्राचीन संरचना लगायत गुजरातमा अवस्थित स्टैच्यू अफ यूनिटी, दिल्लीमा रहेको नेसनल वार मेमोरियल जस्ता आधुनिक संरचनाका तस्विरले सजाइएका छन्। सो रेलको दुईवटा डिब्बालाई विशेष रुपमा योग सम्बन्धी तस्वीर तथा सामग्रीले सजाइएको छ जुन हालका वर्षहरुमा विश्वभर प्रचलित छ । उक्त रेलमा १४ वटा डिब्बा हुनेछन् जसमध्ये केही डिब्बाका बाहिरी भागमा भारतका विभिन्न शास्त्रीय एवम् लोक नृत्य, पोशाक, पर्व, परिकार प्रवर्धन गर्ने किसिमका सामग्री देख्न सकिन्छ।