विश्वकप विजेता अर्जेन्टिनाका नागरिकलाई नेपाल भ्रमणमा विशेष छुट – Jaleshwortoday

विश्वकप विजेता अर्जेन्टिनाका नागरिकलाई नेपाल भ्रमणमा विशेष छुट

 December 30, 2022  
pp

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १५ पौंष

विश्वकप फुटबल विजेता मुलुक अर्जेन्टिनाका नागरिकले नेपाल भ्रमण गर्दा विशेष छूट पाउने भएका छन् ।

हिमालयन रिक्रिएसन ट्रेक्स एन्ड एक्स्पिडिसन कम्पनीले यस्तो अफर ल्याएको छ । कम्पनीले विश्वकप विजेता मुलुक अर्जेण्टिनाका नागरिकलाई ट्रेकिङ तथा टूरमा ३० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

कम्पनीले १५ दिनको ‘एक्स्पेरियन्स नेपाल’ टुर प्याकेजमा २० प्रतिशत छुटको घोषणा गरेको छ ।

१५ दिनको ‘एक्स्पेरियन्स नेपाल’ टुर प्याकेज अन्तर्गतको प्रिमियम प्याकेजमा पर्यटकले हेलिकप्टरमार्फत सगरमाथा आधार शिविर अवलोकन, १ दिन १ रातको नगरकोट सनराईज भ्यू टूर, काठमाडौ, पोखरा, चितवनमा जङ्गल सफारी र लुम्बिनीको भ्रमण र ७ दिनको घोरेपानी पुनहील ट्रेकिङ समावेश छ ।

‘एक्स्पेरियन्स नेपाल’ टुर प्याकेज अन्तर्गतको १२ दिनको प्लाटिनम अन्तर्गत काठमाडौंदेखि नाम्चे होटल एभरेस्ट भ्यु हेली टुर, २ दिन २ रातको काठमाडौं र पोखरा टूरका साथै ७ दिनको घोरेपानी पुनहील ट्रेकिङमा पनि २० प्रतिशत छूको योजना ल्याएको छ ।

हिमालयन रिक्रिएसन ट्रेक्स एन्ड एक्स्पिडिसन कम्पनीका प्रबन्ध निर्देशक विष्णु थापा पर्यटन प्रवद्र्धनका लागि नयाँ प्रयोग गर्नुपर्ने बताउँछन् ।

‘फुटबल खेल मात्र नभएर यसमा भावना पनि जोडिएको छ, उनले भने, ‘यसपटक अर्जेण्टिनाले विश्वकप जित्यो, अर्जेण्टिनाका नागरिकको खुसीमा सहभागी हुन र त्यस खुसीमा साथ दिन नेपालको पर्यटनमा हामीले विशेष छुट सहित स्वागत गरेका हौं।’ यो योजना २०२३ भर लागु हुने बताईएको छ ।