जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ५ माघ
प्रथम मधेश आन्दोलनको आज १६ वर्ष पूरा भएको छ । आजकै दिन ५ माघ २०६३ मा प्रथम मधेश आन्दोलनको क्रममा सिराहाको लहानमा रमेश महतो शहीद भएका थिए । प्रथम बलिदानीको सम्झनामा मधेशकेन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ ।

२०६३ मा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादव लगायतका नेताहरुले अन्तरिम संविधानको प्रतिलिपि जलाए र प्रहरीले उनलाई पक्राउ गरेपछि आन्दोलन सुरु भएको थियो । आन्दोलनका क्रममा लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतो पहिलो शहीद भए । त्यसपछि मधेशभर आन्दोलन चर्किएको थियो । बलिदानी दिवसको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकार सहित मधेश केन्द्रित दलले विभिन्न कार्यक्रम गरि बलिदानी दिवस मनाएका छन् ।

सोही क्रममा आज नेपाल सद्भावना पार्टीले लहान स्थित शहिद स्मारकमा वीर शहिद प्रति फुल,माला तथा अविर अर्पण गरी बलिदानी दिवश मनाएको सोही पार्टीको अध्यक्ष राम कुमार महतोले बताए । त्यसैगरी धनुषाको जनकपुरधाममा समेत नेपाल सद्भावना पार्टी लगायत अन्य दलका नेता तथा कार्यकर्ताहरु विभिन्न चौक तथा ठाउँमा जम्मा भई वीर शहिदप्रति सम्मान प्रकट गरेका छन् ।

महोत्तरीको जलेश्वर स्थित समेत शहिद पार्कमा जलेश्वर नगरपालिकाको मेयर सुरेश साह सोनार लगायत पालिकाका अन्य पदाधिकारीहरु तथा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुले फुल,माला तथा अविर चढाई विर शहिद प्रति सम्मान प्रकट गरेका छन् । सोही अवसरमा जनमत पार्टीको अध्यक्ष तथा प्रतिनिधि सभा साँसद सिके राउतले सँसदमा समेत शहिदहरुको स्मरणमा एक मिनेटको मौन धारणको कार्यक्रम समेत राखिएको थियो ।

