प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी, निर्भिकताके प्रतिमूर्ति बरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको निधन – Jaleshwortoday

प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी, निर्भिकताके प्रतिमूर्ति बरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको निधन

 August 29, 2023  
dd

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ११ भाद्र

प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी, निर्भिकताके प्रतिमूर्ति बरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ ।

पत्रकारिताका भिष्मपितामह पनि भनिने नेपालीको सोमवार बेलुका ८ः१० बजे जनकपुधाम स्थित म्याक्स अस्पतालमा निधन भएको उहाँका छोरा राघवेन्द्रप्रसाद साहले जानकारी दिए।

विगत १४ महिनादेखि बिरामी परेका नेपाली गत असोज १२ गतेदेखि ओछ्यानमा परेका थिए । यसअघि उनलाई भारतको दिल्लीका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

आफ्नो जन्मदिन भन्दा सात दिनअघि को तिथिमा नेपालीको निधन भएको हो । उनको जन्म जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ को बेला गाउँमा बुबा रामदुलास साह र आमा इन्द्रमणि देवीको घरमा सन् २००२ भाद्र १९ गते भएको थियो।
मध्यम बर्गिय सम्पन्न परिवारमा जन्मिएका नेपालीले स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेपछि मिसन पत्रकारिताबाट आफ्नो पत्रकारिता करियरको सुरुवात गरेका थिए । उनले सन् २०१५ मा जानकी नौमीमा कविता लेखेर र वाचन गरेर साहित्य लेखन सुरु गरेका थिए।

त्यसपछि उनले देश र समाजको हितका लागि, अधिनायकवादका विरुद्ध, लोकतन्त्र, समाजवाद र समानताका लागि निरन्तर आफ्नो लेखन मार्फत आवाज उठाउँदै आए । बरिष्ठ पत्रकार नेपालीले २०१८ साल मंसिर २६ गते बाट पत्रकारिता करियर सुरुवात गरेका थिए ।

नेपाली कांग्रेसका नेता महेन्द्रनारायण निधि र बलराम नायकलाई सोही दिन जनकपुरधामबाट पक्राउ गरिएको थियो । नेता द्वय पक्राउ परेको समाचार ‘नेपाल सन्देश’ पत्रिकामा लेखेर नेपालीले पत्रकारिताको सुरुवात गरेका थिए ।

उनि पछिल्लो लामो समय देखि बाबासिर, प्रोस्टेट क्यान्सरबाट पीडित थिए भने विभिन्न आन्दोलनहरुमा प्रहरीको लाठी चार्जबाट खाएको चोटले मेरुदण्डको हाड समेत त्यतिबेला भाँचिएको थियो ।