यौन दुर्व्यवहारको आरोप लागेका निर्देशक वुडी एलेनविरुद्ध भेनिस रेडकार्पेटमा प्रदर्शन – Jaleshwortoday

यौन दुर्व्यवहारको आरोप लागेका निर्देशक वुडी एलेनविरुद्ध भेनिस रेडकार्पेटमा प्रदर्शन

 September 5, 2023  
kk

एजेन्सी
काठमाडौं, १९ भाद्र

हलिउड निर्देशक वुडी एलेनको फिल्म ‘कुप डे चान्स’को वर्ल्ड प्रिमियरको क्रममा भेनिस फिल्म फेस्टिभलबाहिर विरोध प्रदर्शन भएको छ । निर्देशक एलेनलाई रेडकार्पेटमा आतिथ्य प्रदान गरेर फेस्टिभलले ‘रेप कल्चर’लाई पश्रय दिएको भन्दै प्रदर्शनकारीले अर्धनग्न भएर प्रदर्शन गरेका थिए ।

सोमबार राति भेनिसमा एलेन निर्देशित उक्त फिल्मले तीन मिनेट लामो स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको छ । प्रदर्शनकारीको समूहले ‘नो रेप कल्चर’जस्ता नारा लगाएको थियो । ‘हामीले निर्देशकबाट पीडित भएका र आवाजविहीनको आवाज बोलिरहेका छौं, बलात्कारी रोगी होइन, ऊ पितृसत्ताको स्वस्थ छोरा हो, बलात्कारी निर्देशकको लागि कुनै स्पटलाइट जरुरी छैन, अलौकिक मानिसको अस्तित्व छैन,’ लगायतका नारा लगाइएका थिए ।

एलेन रेडकार्पेटमा निस्कनुअघि प्रदर्शन सुरु भएको थियो । प्रदर्शनकारीले चर्का नारा लगाउनुअघि वस्त्र उतारेका थिए । केही मिनेटसम्म प्रदर्शन चलेपछि प्रहरीले आएर हटाएको थियो । मेलानिया नाम गरेकी प्रदर्शनकारीले हलिउड रिपोर्टरलाई बताएअनुसार उनीहरुले ‘बलात्कार संस्कृति’ भनिने प्रवृत्तिको विरोधमा प्रदर्शन गरेका थिए ।

अर्की प्रदर्शनकारी मार्थाले एक मात्र नभएर यौन उत्पीडनको आरोप लागेका तीन निर्देशकलाई भेनिसले निम्त्याएको विरोधमा प्रदर्शन भएको थियो । उनीहरुविरुद्ध १७ यौन दुर्व्यवहारको आरोप लागेको उनले बताएकी छन् । उनीहरुले यौन दुर्व्यवहारमा मुछिएका निर्देशक र फिल्ममेकरलाई भेनिसले सम्मान गर्नु सबै महिला र फेस्टिभलको अपमान भएको टिप्पणी गरेका छन् ।

यस वर्षको भेनिसले यस्तो आरोप लागेका निर्देशकहरु एलेनसहित ल्युक बेसन र रोमन पोलोन्स्कीलाई उनीहरुको फिल्म प्रिमियर गर्न मौका दिएको थियो । एकातिर हलिउड हड्तालको सामना गरिरहेको भेनिसले अर्कोतर्फ यस्तो किसिमको आलोचनाको पनि सामना गरिरहेको छ ।

‘कुप डे चान्स’ फिल्म आफ्नो करिअरको अन्तिम हुन सक्ने संकेत निर्देशक एलेनले यसअघि नै गरिसकेका छन् ।