जलेश्वरमा बालिका हत्याको विरोधमा युवाहरुद्वारा प्रदर्शन – Jaleshwortoday

जलेश्वरमा बालिका हत्याको विरोधमा युवाहरुद्वारा प्रदर्शन

 November 26, 2020  
Jaleshwor

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १० मंसिर

६ वर्षीया बालिका हत्याको विरोधमा जलेश्वरमा मुखमा कालोपट्टी बाँधेर प्रदर्शन गरिएको छ । महोत्तरीको बर्दिवासमा भएको ६ वर्षीया बालिका गुलाब साह खातुनको बलात्कारपछि हत्या तथा स्थानीयको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएको सञ्जय न्यौपानेको विरोधमा स्वतन्त्र युवाहरुले युवा नेता आशुतोष झा नवीनको नेतृत्वमा मुखमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । बालिका खातुनको हत्याको विरोधमा जारी निषेधज्ञाकाबीच दुई दिनदेखि बर्दिबासमा पीडित परिवारको न्यायका लागि प्रदर्शन भइरहेको छ भने प्रदर्शनकै क्रममा प्रहरीको गोली लागेर घाइते तीन जनामध्ये २ जनाको उपचार हुँदैछ भने संजयको मृत्यु भएको छ । घाइतेमध्येका स्थानीय युवक सञ्जय न्यौपानेको उपचारको क्रममा बुधबार बिहान काठमाडौंमा मृत्यु भएको हो । न्यौपानेलाई प्रहरी प्रशासनले हत्या गरेको भन्दै त्यसको विरोधमा महोत्तरीको जलेश्वर नगरपालिकामा आज युवाहरुद्वारा मुखमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरिएको युवा नेता आशुतोष झा नवीनले जानकारी दिए । प्रदर्शनमा सहभागीहरुले जनतालाई गोली हान्ने प्रहरीलाई कारवाही गर, संजय न्यौपानेलाई सहिद घोषणा गर, बलात्कारीलाई फाँसी दे, ६ वर्षीया बालिका गुलबसा खातुनलाई न्याय दे लगायतको नारा लेखिएको प्लेकार्ड समेत बोकेका थिए । त्यस्तै, बर्दिबासमा बालिका गुलबसाह खातुनको बालात्कारपछि हत्या गरिएको घटनाविरुद्ध बुधबार साँझ सीतापुरभङ्गहा बजारमा समेत विरोध प्रदर्शन एवं श्रद्धाञ्जली सभाको आयोजना हुन लागेको छ ।