इजरायलमा मृत्यु भएका नेपालीको शव ल्याउने तयारी, नेपाल फर्कन चाहनेलाई नाम टिपाउन सरकारको आग्रह – Jaleshwortoday

इजरायलमा मृत्यु भएका नेपालीको शव ल्याउने तयारी, नेपाल फर्कन चाहनेलाई नाम टिपाउन सरकारको आग्रह

 October 9, 2023  
dd

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २२ असोज

सरकारले इजरायलमा हमास समूहको आक्रमणमा परेर ज्यान गुमाएका नेपालीको शव स्वदेश ल्याउने तयारी थालेको छ । इजरायलमा अहिलेसम्म १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाली राजदूतावास तेल अभिभ, इजरायलबाट प्राप्त पछिल्लो जानकारी अनुसार इजरायलको गाजासँगको सीमाना लगायतका क्षेत्रमा भएको पछिल्लो आक्रमणमा परी १० जना नेपाली नागरिकहरुले ज्यान गुमाएका, एक जना सम्पर्क विहिन रहेका र केही घाईते अवस्थामा रहेका पुष्टि भएको छ।

मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामी रहेका छन् ।

मृतकहरुको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाईतेहरुको उद्दार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भईसकेको विज्ञप्तीमा उल्लेख छ।

इजरायलबाट स्वदेश फर्कन ईच्छुक नेपाली नागरिकहरुको विवरण संकलनको लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेशनको तयारी भईरहेको पनि उल्लेख छ।

हाल तेल अभिभस्थित विमानस्थल सामान्य रुपमा सञ्चालनमा रहेको र हवाई मार्ग मार्फत् आवत जावत सुचारू भइरहेको जानकारी समेत प्राप्त भएको छ।

इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा सरकारले परराष्ट्र मन्त्री एनपी साउदको संयोजकत्वमा एक समन्वय संयन्त्रको गठन गरेको छ । उक्त संयन्त्रले इजरायलमा रहेका नेपाली नागरिकहरुको संरक्षण र उद्दार गर्न आवश्यक पहल गरिरहेको छ।यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले तेल अभिभस्थित नेपाली राजदूतावासलाई आवश्यक निर्देशन दिनुका साथै निकायगत समन्वय पनि गरिरहेको जनाएको छ । द्वन्दग्रस्त क्षेत्रबाट नेपालीहरुको यथाशिघ्र उद्दार गर्न नेपाल सरकार पूर्ण रुपमा प्रतिवद्ध रहेको पनि दाबी गरिएको छ।

इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा तेल अभिभस्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको सम्पर्क विवरणहरु उपलब्ध गराईएकोले आवश्यक जानकारी लिन र सम्पर्कमा रहन सरकारले अनुरोध गरेको छ ।

यस कठिन परिस्थितिमा इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई सजगता अपनाउन र नेपाली राजदूतावाससँग सम्पर्कमा रहन परराष्ट्र मन्त्रालयले सम्बन्धित सवैमा हार्दिक अनुरोध गरेको छ ।