आरजे ईर्शाद शेख
महोत्तरी, १० आषाढ
महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाले मंगलबार १५औँ गाउँसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु ५३ करोड ५१ लाख ४५ हजार ३०६ को बजेट सार्वजनिक गरेको छ।
उक्त बजेट गाउँपालिकाकी उपाध्यक्ष वन्दना पाण्डेयले प्रस्तुत गर्नुभएको हो। कार्यक्रमको अध्यक्षता पालिकाका अध्यक्ष राम जानकी यादवले गर्नुभएको थियो भने पूर्व कृषि मन्त्री हरि नारायण यादव प्रमुख अतिथि रहनुभएको थियो।
गाउँसभामा सबै वडाका अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, रतौली युवा क्लबका अध्यक्ष बैधनाथ चौधरी, कर्मचारी, पत्रकार, स्थानीय प्रशासन र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष यादवले भने, “पिपरा गाउँपालिका अब इतिहास बन्दैछ। विकासका कामहरू तीव्र गतिमा अगाडि बढिरहेका छन्, हामी सबै मिलेर यसलाई नमूना पालिका बनाउने छौं।”
गाउँसभामा आगामी वर्षका लागि नीति तथा कार्यक्रम पनि प्रस्तुत गरिएको छ। सभामा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि र रोजगारी सिर्जनालाई प्राथमिकता दिइने उल्लेख गरिएको छ।

