" >
मैथिली विकास कोषको नेतृत्वमा जनकपुरधाममा अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने - Jaleshwortoday

मैथिली विकास कोषको नेतृत्वमा जनकपुरधाममा अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने

 २ माघ २०८२, बिहीबार २१:४८  
maithali-bikash-bhawan_GPnz8eBlbG

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १ माघ

मैथिली विकास कोषको नेतृत्वमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८२ आयोजना हुने भएको छ ।
महोत्सव अगामी फागुन ५ देखि ८ गतेसम्म (१७–२० फेब्रुअरी २०२६) जनकपुरधाम–८ स्थित मैथिली विकास कोषको ‘मैथिली भवन’ मा सञ्चालन हुन लागेको हो ।

महोत्सवका आयोजक तथा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले यो महोत्सव मनोरञ्जनको कार्यक्रम नभई मैथिली सभ्यता, पहिचान र सिर्जनात्मक चेतनाको उत्सव भएको बताए ।

‘नाटक, साहित्य र कला समाजको ऐना हुन् । यस महोत्सवमार्फत हामी मैथिली भाषा र संस्कृतिलाई नयाँ पुस्तासम्म पु¥याउन चाहन्छौं,’ अध्यक्ष चौधरीले भने ।

उनका अनुसार महोत्सवमा स्वदेशी तथा विदेशी नाटक मञ्चन, साहित्यिक गोष्ठी, कला प्रदर्शनी, कविता वाचन तथा सांस्कृतिक प्रस्तुति समावेश गरिनेछ ।

‘अन्तर्राष्ट्रिय नाट्य समूहको सहभागिताले जनकपुरधामलाई विश्व रंगमञ्चसँग जोड्ने अवसर प्रदान गर्नेछ,’ उनले थपे ।

अध्यक्ष चौधरीले महोत्सव सफल बनाउन साहित्यकार, कलाकार, बुद्धिजीवी, विद्यार्थी तथा आम नागरिकलाई सहभागिताका लागि आमन्त्रणसमेत गरेका छन् ।

‘जनकपुरधामको सांस्कृतिक गरिमालाई विश्वसामु चिनाउने यो अवसर सबैको साझा प्रयासबाट मात्र सम्भव छ,’ उनको भनाइ छ ।

महोत्सवले जनकपुरधामलाई साहित्य र नाट्यको केन्द्रका रूपमा स्थापित गर्नुका साथै स्थानीय कलाकारलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने विश्वास गरिएको छ ।