पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई निर्देशन – Jaleshwortoday

पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई निर्देशन

 March 10, 2022  
Petrol

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २५ फागुन

पछिल्लो समय अत्यधिक रुपमा बढ्दै गएको पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयमा भएको छलफलपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो । छलफलपछि समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उपभोक्तालाई मार नपर्ने गरी सर्वसुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराएर मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिइएको बताए । उनले नेपाल आयल निगमका जाहेज मागलाई सम्बोधन गर्न पनि सरकारलाई सचेत गराए । उनले भने,‘उपभोक्तालाई मार नपर्ने गरी सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध होस् । यसको लागि नेपाल आयल निगम पनि धरासायी स्थितिमा पुगेको हुनाले सम्बन्धित निकायलाई आयल निगमको जायज मागहरु हुन । मागहरुको व्यवस्था होस् भन्ने समितिको ठहर रहर रहेको छ । समितिले सम्बन्धित निकायलाई निर्देशन दिन्छौं । नेपाल आयल निगमलाई के निर्देशन दिन्छौं भने उपभोक्ताले सरल र सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध होस् । सकभर मूल्य नियन्त्रण गर्ने तर्फ सरकारको ध्यान जाओस् ।’ सभापति श्रीवास्तवले सरकारले उपभोक्तालाई सरल र सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध नगराएकोमा पनि आपत्ति जनाए ।