एसियाडमा सहभागी हुन नेपाली पुरुष भलिबल टिम चीन प्रस्थान – Jaleshwortoday

एसियाडमा सहभागी हुन नेपाली पुरुष भलिबल टिम चीन प्रस्थान

 September 16, 2023  
vv

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ३० भाद्र

१९ औं एसियन गेम्स एसियाडमा सहभागी हुन नेपाली राष्ट्रिय पुरुष भलिबल टिम चीन प्रस्थान गरेको छ ।

यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङझाउमा हुने एसियाडमा नेपालको पुरुष र महिला दुवै टिमले सहभागिता जनाउनेछ ।

तर पुरुष भलिबलको प्रतिस्पर्धा भने उद्घाटन समारोह भन्दा अघि सेप्टेम्बर १९ देखि नै सुरु हुने भएकोले भलिबल टोली चाँडै चीन गएको हो ।

मानबहादुर श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीमा यस पटक युवा  र नयाँ खेलाडीहरु धेरै छन् । यस्तै मुख्य प्रशिक्षकमा नेदरल्याण्ड्सका प्रशिक्षक हान अबिङ छन् ।

पुरुष भलिबलको खेल सेप्टेम्बर १९ देखि २६ सम्म हुनेछ । समूह बी मा रहेको नेपालले एसियन पावर हाउस इरान र बहराइनसँग खेल्नेछ ।

नेपालले पहिलो खेल सेप्टेम्बर १९ मा बहराइनसँग खेल्नेछ भने समूहको अन्तिम खेल सेप्टेम्बर २० मा हुनेछ ।

समूह बी मा शीर्ष दुईमा रहन सके नेपालले नकआउट चरणको यात्रा तय गर्नेछ । यदि समूह चरणबाट बाहिरिएमा भने नेपाली टोलीले अन्य खेल खेल्न पाउने छैन ।

यस पटक पुरुष भलिबलमा समूह चरणबाट बाहिरिने टिमले वरियताका लागि खेल खेल्न पाउने छैन ।

महिलातर्फ भने खेल सेप्टेम्बर ३० देखि अक्टोबर ८ सम्म हुनेछ । जसमा नेपालले समूह चरणमा दक्षिण कोरिया र भियतनामसँग खेल्नेछ ।

१९औं एसियाडमा नेपालबाट २९ खेलका २५३ खेलाडी सहभागी हुँदैछन् । एसियाडको इतिहासमा यस पटक नेपालले सबैभन्दा धेरै खेलाडी पठाउन लागेको हो ।

 नेपाली पुरुष भलिबल टिम

मानबहादुर श्रेष्ठ (कप्तान), विशालबहादुर विक, टेकराज अवस्थी, दुर्गाबहादुर खड्का, रविन चन्द, विनोद चन्द, लोकेन्द्रराज गिरी, हेमन्तबहादुर मल्ल, सफल विक, मनिष मानन्धर, धिरोजकाजी बस्नेत, सम्राट भण्डारी

मुख्य प्रशिक्षक : हान अबिङ

प्रशिक्षक : भरत यादव

व्यवस्थापक : रोशन श्रेष्ठ