यू–१९ टोलीले दुई दिनमै पुरस्कार रकम पाउँछः खेलकुदमन्त्री – Jaleshwortoday

यू–१९ टोलीले दुई दिनमै पुरस्कार रकम पाउँछः खेलकुदमन्त्री

 December 5, 2023  
22

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १९ मंसिर

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले यू–१९ क्रिकेट टिमका खेलाडीहरुले पूर्वघोषित पुरस्कार रकम दुई दिनमै पाउने बताएका छन् । यू–१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) ले खेलकुदमन्त्रीलाई पनि बोलाएको थियो । कार्यक्रममा मुख्य प्रशिक्षक जगत टमाटाले पूर्व घोषित पुरस्कार आए खेलाडीहरुलाई उर्जा मिल्ने बताएका थिए । खेलाडीहरुलाई शुभकामना दिने क्रममा मन्त्री लिम्बुले पुरस्कार रकम दुई दिनमै खेलाडीहरुको बैक खातामा पठाइने बताए । उनका अनुसार यसै कार्यक्रममा नै हस्तान्तरण गर्न सकिन्छ कि भनेर प्रयास भएको थियो । तर विभिन्न कारणले सम्भव नभएको भन्दै मन्त्री लिम्बुले भने, ‘अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको छ । २ दिनभित्र खेलाडीहरुको खातामा पैसा आउँछ । उच्च मनोबलका साथ जानुस् ।’ यू–१९ विश्वकपमा छनोट भएपछि सरकारले टोलीका सदस्यलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।