आसमानको सामाजिक परीक्षण – Jaleshwortoday

आसमानको सामाजिक परीक्षण

 May 31, 2024  
2222

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १८ जेष्ठ

मधेशसहित देशभर सामाजिक रुपान्तरणमा उल्लेख्य कार्य गर्दै आएको आसमान नेपालको २५औं स्थापना दिवसको अवसर पारेर सामाजिक परीक्षण–२०८१ सम्पन्न भएको छ ।
मधेश प्रदेशसहित बाग्मती, गण्डकी लगायतको प्रदेशमा समेत सामाजिक रुपान्तरणको क्षेत्रमा कार्य गरिरहेको आसमान नेपालले आउँदो जेठ २४ मा रजत जयन्ती मनाउन लागेको हो ।
शुक्रबार जनकपुरधाममा आयोजित सामाजिक परीक्षण–२०८१ कार्यक्रममा वक्ताहरुले सामाजिक रुपान्तरणमा आसमान नेपालको भूमिका अविस्मरणीय रहेको टिप्पणी गरेका थिए ।
आसमान नेपालका अध्यक्ष रामप्रवेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डलले सामाजिक कुरीति र विकृति विरुद्ध यो संस्थाले चलाएको अभियान प्रशंसनिय रहेको बताए ।
शिक्षा, स्वास्थ्यमा पछाडि परेको मधेशका जनतालाई सचेत पार्नको लागि संचालन गरेको परियोजनाहरु प्रभावकारी रहेको उनले दावी गरे ।
मिथिलाबिहारी नगरपालिकाका नगरप्रमुख राजेन्द्र यादवले समाजमा देखिएको विकृति अन्त्य गर्न सरकारी निकायलाई आसमान नेपालले सहयोग गरिरहेको जिकिर गरे । धनुषाको पालिकाहरुमा संचालन भइरहेको परियोजनाले किशोरकिशोरीहरु प्रत्यक्ष रुपमा लाभान्वित भइरहेको उनले बताए ।
भविष्यमा पनि यस प्रकारको जनसरोकारका परियोजनाहरु संचालन गर्न उनले आह्वान गरे ।
महोत्तरीको बलवा नगरपालिकाका नगरप्रमुख रामविजय महतोले आसमान नेपालले समाज सुधारमा गरेको योगदान प्रशंसनीय रहेको बताए ।
मधेशमा अझै जनचेतनाको अभाव रहेको बताउँदै उनले आमजनतालाई सचेत पार्न आसमान नेपालले गरेको सार्थक प्रयास भविष्यमा पनि गर्दै जानुपर्नेमा जोड दिए ।
सो अवसरमा स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक डा. राजीव झाले सरकारको ध्यान जान नसकेको क्षेत्रको उत्थानमा आसमान नेपालले गरिरहेको प्रयास सराहनिय रहेको बताए ।
मधेशमा मात्रै होइन, देशमै छुट्टै पहिचान बनाउन सफल आसमान नेपालले भविष्यमा आमजनता प्रत्यक्ष रुपमा लाभान्वित हुने परियोजनाहरु संचालन गर्नुपर्नेमा डा. झाले जोड दिए ।
खेलकूद तथा समाज कल्याण मन्त्रालयका उपसचिव देवकुमारी खत्रीले महिला अधिकार, प्रजनन अधिकार, बालविवाह विरुद्धको अभियानमा आसमान नेपालले गरिरहेको प्रयास प्रशंसनीय छ ।
२५ वर्षको लामो यात्रा सफलताको साथ पूरा गर्नु आफैमा प्रशंसनीय रहेकोले आगामी दिनमा पनि यो संस्थाले जनतालाई प्रत्यक्ष लाभ हुने कार्यक्रमहरु संचालन गर्नुपर्नेमा उनल जोड दिइन् ।
शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका अधिकृत किशोरी कापरले सामाजिक रुपान्तरणमा सबै पक्षको सहयोग अपरिहार्य रहेको बताए । सरकारलाई गैरसरकारी संघसंस्थाले सहयोग गर्दा यो कार्य थप प्रभावकारी ढंगले अघि बढ्ने विश्वास उनले व्यक्त गरे ।
जिल्ला स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवले शिक्षा, स्वास्थ्य, महिला अधिकार, लैंगिक समानता कायम गर्न तथा समाजिक विकृति विरुद्ध आसमान नेपालले उदाहरणीय कार्य गरेको बताए ।
स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सबै पक्षको सहयोग आवश्यक रहेको बताउँदै सहयोगी हातहरुसित समन्वय गरेर अघि बढ्न आफूहरु तयार रहेको यादवले बताए ।
गत वर्षको सामाजिक परीक्षणबाट प्राप्त सुझाव कार्यान्वयन गर्दै आसमान नेपालले आगामी दिनमा पनि प्राप्त सुझाव सल्लाहलाई आत्मसाथ गरेर अघि बढ्ने कार्यक्रम निर्देशक दिनेश साहले बताए । कार्यक्रममा लागूऔषधको कुलतमा लागेका किशोरहरुको लागि मनोसामाजिक परामर्श, इन्टरनेटका कारण बालबालिकामा परेको नकारात्मक प्रभाव, जलवायु परिवर्तनको क्षेत्रमा पनि परियोजना संचालन गर्नको लागि सहभागीहरुले सुझाव दिएका छन् ।
सो अवसरमा प्रधानाध्याक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, महिला स्वयम्सेविका, बाल क्लवका पदाधिकारी लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा आसमान नेपालका कोषाध्यक्ष रेखा यादव, सल्लाहकार गुरु सुवेदी, कार्यक्रम प्रबन्धक दिलिप यादव लगायत लाभग्राहीहरुको सहभागिता रहेको थियो ।
विभिन्न दातृ निकायको सहयोगमा आसमान नेपालद्वारा मधेशसहित देशभर २५ वटा परियोजना संचालित छ ।