आरजे ईर्शाद शेख
महोत्तरी, ९ आषाढ

रामगोपालपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ४६ करोड १६ लाख ७६ हजार ९ सय १ रुपैयाँको अनुमानित बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
सोमवार वडा नम्बर ५ स्थित दुर्गा मन्दिरअगाडि आयोजित १२औँ नगरसभामा नगरप्रमुख रामदुलार साहले बजेट प्रस्तुत गरेका हुन् । नगरप्रमुख साहले बजेट प्रस्तुत गर्दै संघीय सरकार, प्रदेश सरकार, आन्तरिक आम्दानी तथा दातृ निकायहरूबाट प्राप्त श्रोतको विवरणसहित कुल बजेटको खाका सार्वजनिक गरे। उनका अनुसार बजेट स्रोत निम्नानुसार छन् ः संघीय वित्तीय समानीकरणः ९ करोड ६१ लाख,संघीय सशर्त अनुदानः १६ करोड ९८ लाख,संघीय विशेष अनुदानः ६९ लाख,संघीय समपुरक अनुदानः २ करोड ३२ लाख,संघीय राजस्व बाँडफाँडः ९ करोड १२ लाख २३ हजार ४९१,प्रदेश वित्तीय समानीकरणः ६५ लाख ४९ हजार,प्रदेश विशेष अनुदानः ३० लाख,प्रदेश समपुरक अनुदानः २० लाख,प्रदेश राजस्व बाँडफाँडः ५४ लाख ४ हजार ४१०,प्रदेश सशर्त अनुदानः ९५ लाख,आन्तरिक आम्दानीः २ करोड,मालपोतबाट प्राप्तः ८० लाख
,अ.ल्या. रकमः २ करोड रहेको छ ।
नगरप्रमुख साहले बजेटसँगै सामाजिक तथा पूर्वाधार क्षेत्रमा केन्द्रित नीति तथा कार्यक्रम पनि प्रस्तुत गरे। कार्यक्रम अन्तर्गतःएमबीबीएस अध्ययन गर्ने विद्यार्थीहरूलाई ५१ हजार रुपैयाँ छात्रवृत्ति,जन्म, मृत्यु र विवाह दर्ता निःशुल्क,गरिब, विपन्न, असहाय परिवारलाई विवाह र क्रियाखर्चमा राहत,कृषि विद्युतीकरणका लागि बजेट विनियोजन,सिंचाइ प्रयोजनका लागि विद्युत महसुलमा अनुदान र कृषकलाई निःशुल्क कृषि मिटर उपलब्ध गराइने छ । १२औँ नगरसभाको उद्घाटन कार्यक्रम मधेस प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख नन्दु महरा, प्रमुख प्रशासकीय अधिकृत अच्छेलाल दास, नगर उपप्रमुख रिना यादव, वडा अध्यक्ष, सदस्यहरू, कर्मचारी, शिक्षक, पत्रकार, राजनीतिक दलका प्रतिनिधि र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।
