पुस अन्तिम सातादेखि बुस्टर डोज दिने तयारी – Jaleshwortoday

पुस अन्तिम सातादेखि बुस्टर डोज दिने तयारी

 December 22, 2021  
Booster

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ७ पौष

सरकारले पुसको अन्तिम सातादेखि कोभिड–१९ विरुद्धको बुस्टर डोज लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या स्वास्थ्यमन्त्री विरोध खतिवडाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अनुमति दिए पुसको अन्तिम सातादेखि बुस्टर डोज दिने बताएका हुन् । बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्री खतिवडाले भने, ‘डब्ल्यूएचओले अनुमति दिएको खण्डमा जनवरीको पहिलो हप्ता वा पुसको अन्तिम सातादेखि आवश्यकताअनुसार बुस्टर डोज दिन चाहन्छौं ।’ बुस्टर डोज दिँदा क्रमशः फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सुरक्षा निकाय, कर्मचारी, वृद्धवृद्धा, बालबालिका हुँदै सबै नागरिकलाई दिने मन्त्री खतिवडाले बताए । यसअघि राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष प्रा.डा. रमेशकान्त अधिकारीले आधा जनसंख्यालाई दुवै डोज खोप दिएपछि बुस्टर डोज दिन सकिने बताएका थिए । जेष्ठ नागरिक तथा दीर्घ रोगीलाई बुस्टर डोज दिन सकिने भनी सल्लाहकार समितिले सिफारिस पनि गरिसकेको छ । स्वास्थ्यमन्त्री खतिवडाले खुला नाका भएका कारण कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोम संक्रमणको जोखिम बढी भएको भन्दै नाकाबाट आउजाउमा क्रमशः कडाइ गर्दै लैजाने बताए । ठूला नाका भएर आवातजावत गर्दा खोप लगाउन र खोप लगाएको प्रमाण पत्र बोकेर हिँड्न मन्त्री खतिवडाले आग्रह गरेका छन् । स्वास्थ्यमन्त्री खतिवडाले कोरोना संक्रमितको उपचार गर्न देशभरका अस्पताललाई तयारी अवस्थामा राखेको पनि दावी गरेका छन् । अस्पताहरुमा आवश्यक जनशक्ति, स्वास्थ्य सामग्रीसहित तयारी अवस्थामा राख्न निर्देशन दिइसकेको उनको भनाइ छ । सरकारको सम्पूर्ण ध्यान कोरोना मुक्त गर्नमा केन्द्रित रहेको भन्दै उनले ओमिक्रोन भेरियन्ट देखिएसँगै यो अभियानमा थप चिन्ता बढाएको बताए । उनले अघि भने, ‘सरकार र मन्त्रालयले आफ्नो तर्फबाट जनशक्ति, अस्पताल तथा आवश्यक पर्ने सबै चिज सजग र सतर्कता अवस्थामा राखेका छौं ।’ मन्त्री खतिवडाले हाल १८ वर्षमाथि उमेर समूहका नागरिकलाई कोभिशिल्ड र भेरोसेल खोप अभियान सञ्चालन भइरहेको बताए । स्वास्थ्य मन्त्री खतिवडाले नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखापर्ने वित्तिकै ओमिक्रोन प्रभावित दक्षिण अफ्रिकासहित ९ देशहरुबाट हुने हवाइ यात्रालाई प्रतिबन्ध लगाएको बताए ।