मो.इर्शाद
महोत्तरी ,२९ माघ
महोत्तरीको मटिहानी नगरपालिका–४ मझौरामा ट्याक्टरको रोटाभेटरले किच्दा दुई बालिकाको मृत्यु भएको छ। आज दिउँसो खेत जोत्ने क्रममा भएको दुर्घटनामा सात र आठ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिनुभयो।
अचानक ट्याक्टरबाट लड्न जाँदा पछाडि जडान गरिएको रोटाभेटरमा परेर दुवै बालिकाको ज्यान गएको प्रहरीले जनाएको छ।दुर्घटनापछि ट्याक्टर चालक फरार रहेको प्रहरीले जनाएको छ। उक्त ट्याक्टरका धनी मटिहानी–४ कै ४२ वर्षीय फुल महम्मद रहेको बताइएको छ।
मृतक दुवै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ। फरार चालकको खोजी कार्य तीव्र पारिएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
