जलेश्वर प्रादेशिक अस्पताल रेफर केन्द्र बन्दै – Jaleshwortoday

जलेश्वर प्रादेशिक अस्पताल रेफर केन्द्र बन्दै

 January 3, 2022  
Hospital

रासस
महोत्तरी, १९ पौष

अस्पतालको मुख्य ढोकाबाटै बसेर बिरामीलाई हेरेर ‘बाहिर लैजानुस् यहाँ उपचार सम्भव छैन’ भन्दै फर्काउन थालेपछि अहिले जलेश्वर जिल्ला अस्पतालमा बिरामी आउन छाडेका छन् । विगत दुई सातादेखि चिसोका कारण विभिन्न रोगका बिरामी बढ्न थाले पनि उपचारका लागि जिल्ला अस्पतालमा आउनेको सङ्ख्या भने न्यून छ । स्वास्थ्यकर्मीले बिरामीलाई थप उपचारको लागि जनकपुरस्थित प्रादेशिक अस्पताल र अन्य स्थानमा पठाइदिने र बिरामीलाई चिकित्सकहरुले समय नदिने गरेका कारण अहिले अस्पताल सुनसान रहेको नागरिकको गुनासो छ । जिल्ला उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले त्यहाँ कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले बिरामी ल्याउने बित्तिकै तपाई आफ्नो मान्छे भएकाले राम्रो सल्लाह दिन्छु, यहाँ उपचार नगराउनुस्, यहाँ डाक्टर पनि आउँदैनन् र उपचार पनि राम्रोसँग हुँदैन, केही भइहाल्यो भन्ने के गर्ने भनी उपचारै नगरी फर्काउने गरेको आरोप लगाए । पच्चिस शैया क्षमताको उक्त अस्पतालको आकस्मिक कक्ष र ओपिडी कक्षसमेत सुनसान देखिन्छ । यहाँ आउने बिरामीलाई सरकारी शुल्कमा ल्याब परीक्षणदेखि औषधि वितरण गर्नेसम्मको व्यवस्था रहेपनि चिकित्सकहरूले बाहिर ल्याब परीक्षण गर्न पठाउने र बाहिरै महँगो मूल्यमा औषधि खरिदका लागि पठाउने गरेका कारण पनि बिरामी यहाँ आउन छाडेका एक चिकित्सकले नै नाम नछाप्ने सर्तमा बताए । उक्त अस्पतालमा अहिले १६ चिकित्सक र दुई दर्जन बढी स्वास्थ्यकर्मी कार्यरत छन् तर जलेश्वरस्थित एक दर्जन निजी अस्पताल तथा क्लिनिक भने बिरामीले खचाखच छ । कोरोना विशेष अस्पताल बनाइएको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट र अन्य आवश्यक सबै सुविधा भए पनि यहाँ कार्यरत चिकित्सकको लापरबाही र बेवास्ताका कारण बिरामी त्यहाँ जानुको सट्टा निजी अस्पताल र क्लिनिकहरुमा उपचार गराउन बाध्य छन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेले आफन्त तथा पार्टीका कार्यकर्ताको भर्तीकेन्द्र बनाएर जिल्ला अस्पतालको स्वास्थ्य सेवा र कार्यक्रमलाई कमजोर बनाएका कारण पनि यहाँ बिरामी उपचार गराउन आउन छाडेको जलेश्वर नगरपालिका– २ वडाध्यक्ष बरुणकुमार दाहालले बताए । उनले यस अस्पताल आफ्नै वडामा रहेपनि यहाँ गरिने कुनै पनि कार्यक्रमबारे आफूसँग कुनै समन्वय र सहकार्य नै नगर्ने गरेकोे गुनासो पनि गरे ।