रुसले गरेको बम आक्रमणमा युक्रेनी अभिनेता लीको मृत्यु – Jaleshwortoday

रुसले गरेको बम आक्रमणमा युक्रेनी अभिनेता लीको मृत्यु

 March 10, 2022  
Film

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २५ फागुन

रुसले गरेको बम आक्रमणमा युक्रेनका चर्चित अभिनेता तथा टीभी प्रस्तोता पासा लीको मृत्यु भएको छ । बीबीसीका अनुसार राजधानी किभ नजिकैको युक्रेनी सहर इरपिनमा भएको घटनामा लीको मृत्यु भएको हो । ३३ वर्षीय लीले रुसी आक्रमणको पहिलो दिन युक्रेनको प्रतिरक्षा गर्ने दस्तामा भाग लिएका थिए । इरपिन सहरका बासिन्दाका अनुसार अभिनेता लीले ‘द लायन किङ’ र ‘द हबिट’जस्ता चर्चित युक्रेनी संस्करणका फिल्ममा अभिनय गर्नुका साथै आवाज दिएका थिए । पाभ्लो ली नामले फिल्ममा चर्चित उनको जन्म सन् १९८८ मा क्रिमियामा भएको थियो । उनले हालै त्यहाँको डोम टीभीमा एक कार्यक्रम सञ्चालन गर्न सुरु गरेका थिए । उक्त टीभी च्यानलले सन् २०१४ देखि रुसी पृथकतावादीहरुले कब्जा गरेको युक्रेनका पूर्वी क्षेत्रका दर्शकलाई लक्षित गर्दै प्रसारण आरम्भ गरेको थियो । च्यानलकी प्रमुख युलिया ओस्ट्रोभ्स्काले दिवंगत अभिनेता तथा प्रस्तोता ली रमाइलो स्वभावका व्यक्ति भएको बताएकी छन् । उनले टीभी ट्यालेन्ट शो स्टार फ्याक्ट्री र एक्स–फ्याक्टरसहित २०१६ मा रिलिज भएको सेल्फीपार्टीसहितका फिल्ममा अभिनय गरेका थिए ।