विद्युत आपूर्ति नियमित गर्न वीरगञ्जका उद्योगीको माग – Jaleshwortoday

विद्युत आपूर्ति नियमित गर्न वीरगञ्जका उद्योगीको माग

 March 11, 2023  
dd

जलेश्वरटुडे समाचारदाता
पर्सा, २७ फाल्गुण

वीरगञ्जका उद्योगीले पर्सा–बारा क्षेत्रमा नियमित विद्युत आपूर्ति गर्न माग गरेका छन् । केही दिनदेखि पर्सा–बारा औद्योगिक क्षेत्रमा अनियमित विद्युत कटौतीको समस्या देखिएपछि उनीहरुले त्यस्तो माग गरेका हुन् ।

उद्योगहरुमा विद्युत ट्रिपिङ हुने, अघोषित रुपमा घण्टौं विद्युत नआउने समस्या देखिएको उनीहरुको भनाइ छ । जसले गर्दा उद्योग प्रतिष्ठानहरु पूर्ण क्षमतामा सञ्चालन हुन नपाएको, औद्योगिक कच्चा पदार्थ नोक्सान भइरहेको, उत्पादनको गुणस्तरमा ह्रास आइरहेको उनीहरुको गुनासो छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघले गुणस्तरीय विद्युत आपूर्तिको अभावमा उद्योगको उत्पादन घट्ने, मेसिनरी पार्टपूर्जामा टुटफुट बढी आउने आदि समस्याहरु आइरहेको जनाएको छ । संघका अध्यक्ष सुवोध गुप्ताले शुक्रबार विज्ञप्ति जारी गर्दै समस्या समाधान गरिदिन विद्युत प्राधिकरणसँग अनुरोध गरेका छन् ।

अध्यक्ष गुप्ताद्वारा जारी विज्ञप्तिमा विद्युत प्राधिकरणले माग अनुसार विद्युत आपूर्ति गर्न नसक्ने भएमा निश्चित क्षेत्रमा लोडसेडिङ गरी अन्य क्षेत्रमा गुणस्तरीय विद्युत आपूर्ति गर्ने व्यवस्था मिलाई दिन आग्रह गरेका छन् । तालिका आउँदा उद्योगीहरुले सोही अनुसार उत्पादनको तालिका बनाएर उद्योग सञ्चालन गर्न सक्ने उनको भनाइ छ ।

‘उद्योग, व्यापारको अवस्था खस्क‌ँदो छ, बैंक तथा वित्तीय संस्थाहरुले ब्याज दर बढाएका छन्, नेपाल राष्ट्र बैंकले हप्तैपिच्छे विभिन्न सर्कुलर जारी गर्छ । भारत लगायत अन्य मुलुकहरुसँगको व्यापारमा असन्तुलन छ,’ अध्यक्ष गुप्ताले भने, ‘यसले गर्दा नेपालको अर्थतन्त्र खस्किंदै गइरहेको छ । यस्तो अवस्थामा नेपाल विद्युत प्राधिकरणले प्रयाप्त विद्युत आपूर्ति नगर्दा बारा-पर्सा औद्योगिक करिडोरका उद्योगहरु झन् मर्कामा परेका छन् ।’

आवश्यक मात्रामा विद्युत आपूर्ति नहुँदा उत्पादनको लागत बढन जाने हुँदा उपभोक्ता माथि नै आर्थिक भार बढ्ने वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतमले बताए ।