करिनाले गरिन् ‘थ्री इडियट्स’को सिक्वेल बन्न लागेको संकेत – Jaleshwortoday

करिनाले गरिन् ‘थ्री इडियट्स’को सिक्वेल बन्न लागेको संकेत

 March 24, 2023  
yy

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १० चैत्र

आमिर खान स्टारर हिट फिल्म ‘थ्री इडियट्स’को सिक्वेल बन्ने कुराले यतिबेला बलिउड गर्माएको छ । यो चर्चा यतिबेला सुरु भयो जतिबेला आमिरसहित आर माधवन अर्का कलाकार सरमन जोशीको गुजराती फिल्म ‘कङ्ग्राच्युएसन’लाई प्रवद्र्धन गर्न इन्स्टाग्राम लाइभ भिडियोमा उपस्थित भए ।

‘थ्री इडियट्स’का यी तीनै कलाकार एकसाथ भेला भएपछि फ्यानले सिक्वेल बन्ने अनुमान गर्न थालेका छन् । लगत्तै अभिनेत्री करिना कपुरले पनि इन्स्टाग्राममा भिडियो पोस्टमार्फत सिक्वेल बन्न लागेको संकेत गरिन् । करिनाको यो संकेतले झनै फ्यानको शंकामा बल मिलेको छ ।

हालै अफ्रिकामा छुट्टी मनाएर फर्किएकी करनाले एउटा भिडियो सेयर गर्दै भनिन्, ‘तीनजना कलाकारलाई देखाइएको क्लिप ‘यी तीनजनाले हामीबाट लुकाइरहेका छन् । सरमनको फिल्मको प्रमोसनका लागि भनिएपनि उनीहरु सिक्वेलका लागि काम गरिरहेका हुन सक्छन् । तीनजनाले मात्र काम गर्नेगरी । म बिना कसरी ? मलाई लाग्छ, बोमनलाई पनि यसबारे थाहा नभएको हुन सक्छ ।’

करिनाले सिक्वेल बनाउने गन्ध आएको भन्दै भिडियोको अन्त्य गरेकी छन् । फेब्रुअरीमा राजकुमार हिरानीको ‘थ्री इडियट्स’मा क्रमशः फुन्सुक वाङ्डु, राजु र फरहानको भूमिका खेलेका आमिर, शरमन र माधवन शरमनको फिल्मको प्रमोसनका लागि जम्मा भएका थिए । फ्यानले उक्त लाइभमा ‘अल इज वेल’ लेखेर कमेन्ट गर्दै सिक्वेल बनाउन समेत आग्रह गरे ।

एक प्रशंसकले ‘राजु, रान्चो र फरहानको पुनर्मिलन’ भन्दै लेखे । ‘थ्री इडियट्स’ चेतन भगतको उपन्यास ‘फाइभ प्वाइन्ट समवन’मा आधारित थियो र २००९ को सबैभन्दा हिट फिल्म बनेको थियो ।