इण्डियन वुमन्स लिग खेल्न चार खेलाडी भारत प्रस्थान – Jaleshwortoday

इण्डियन वुमन्स लिग खेल्न चार खेलाडी भारत प्रस्थान

 April 13, 2023  
yy

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ३० चैत्र

इण्डियन वुमन्स लिग (आईडब्लूएल)मा व्यावसायिक फुटबल खेल्न नेपाली राष्ट्रिय टिमका चारजना खेलाडी बिहीबार भारत प्रस्थान गरेका छन् ।

साविक विजेता गोकुलम केरलाबाट खेल्ने स्ट्राइकर सावित्रा भण्डारी, सेथु एफसीबाट खेल्ने गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा र किक स्टार्टबाट खेल्ने सरु लिम्बु र रेनुका नगरकोटी भारत गएका हुन् ।

सावित्राले सन् २०१८–०१९ को सिजनदेखि नै भारतमा व्यावसायिक लिग खेलिरहेकी छन् ।

सरु र रेनुका यसअघि २०२० को सिजनमा अनुबन्ध भए पनि कोरोना महामारीका कारण प्रतियोगिता स्थगित भएपछि खेल्न पाएका थिएनन् ।

नेपाली टिमकी उदीयमान खेलाडी दीपा शाही पनि लर्डस एफसीका लागि अनुबन्धित भइसकेकी छन् ।

सन् २०१६ देखि सुरु भएको भारतीय महिला फुटबल लिगमा १६ टिम छन् ।

नयाँ संस्करणको प्रतियोगिता २५ अप्रिलदेखि सुरु हुनेछ । सहभागी १६ टिमलाई दुई समूहमा बाँडेर प्रतिस्पर्धा गराइनेछ । हरेक समूहको शीर्ष चार टिम क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।